काठमाडौं । क्रिकेटर सोमपाल कामीले जनकपुर रोयल्सका खेलाडीले केही दिनमा नै पूरा पैसा आउने बताएका छन्।
काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टारसँग पराजित भएर सिधा फाईनलमा स्थान बनाउँनबाट बन्चित बने पश्चात कुराकानीका क्रममा सोमपालले पूरा पेमेन्ट एक दुई दिन भित्र नै आउने बताएका छन् ।
'खेलाडीहरु खुला मन सहित खेल्न सकिरहेका छैनन् । हाम्रो मुख्य खेलाडी नै होटलमा बसिरहेको छ । त्यसकारण सोचे जस्तो नतिजा आउँन सकेको छैन ,' सोमपालले भने 'व्यवसायीक खेलाडी भएपछि ग्राउन्डमा आए पछि प्रदर्शन गर्नु पर्यो । वाउन्ड्री बाहिरका कुरा बाहिर राखेर खेलमा ध्यान दिनु पर्यो । हामीले पेमेन्ट पाएनौं भनेर १००% दिएर नखेलेको भने होईन । पहिला पनि पेमेन्ट नपाउँदा हामी जित्दै आईरहेका थियौं ।'
६५% जति रकम खेलाडीले पाईसकेको र पूरा रकम केही दिन सम्ममा आउने सोमपालले बताए । पहिलो क्वालिफायरमा हारले सिधै फाईनलमा स्थान बनाउने अवसर गुमाएको भए पनि फाईनलका लागि अर्को एक मौका पाएको उनले बताए ।
'समय हामीसँग एकदम कम रहेको छ । जति तयारी गर्ने हामीले गरिसक्यौं । अब रिजल्ट दिने समय आएको छ । आज हाम्रो पक्षमा रिजल्ट आएन अर्को खेलमा भने रिजल्ट हाम्रो पक्षमा नै आउछ ,' सोमपालले भने 'हाम्रो टिम उत्कृष्ट रहेर नै हामी यहाँ आईपुगेका हौं । आजको खेलमा धेरै मिस्टेक भएर नै नतिजा हाम्रो पक्षमा नआएको हो ।'