काठमाडौं । काठमाडौं नाईट्स पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।
शनिबार फार वेस्ट युनाईटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले पराजित गरेसँगै अंक तालिकाको चौंथो स्थानमा रहदै काठमाडौं प्लेअफमा पुगेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा अलआउट हुँदै १ सय ४६ रन मात्र बनायो ।
पोखराका लागि कप्तान उपुल थरंगाले २३ बलमा ३६ रन बनाउँदा प्रतिश जिशीले ११ बलमा ५ छक्काको सहयोगमा ३४ रन बनाए ।
सिद्धान्त लोहनी २५ बलमा २८ रनमा आउट हुँदा सुमित महर्जनले १४ रन बनाए ।
फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले समान २/२ तथा करण केसी र प्रकाश जैशीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
फार वेस्टका लागि पहिलो विकेटका लागि कप्तान शाहिदी र विनोद भण्डारीले १ सय ३४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा उनीहरुको यो दोस्रो शतकीय साझेदारी हो ।
शाहिदीले ५१ बलमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । उनको यो प्रतियोगितामा चौथो अर्धशतक हो । यो प्रतियोगितामा चौथो अर्धशतक बनाउने उनी पहिलो खेलाडी हुन् ।
भण्डारीले ४७ बलमा ५९ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । राशिद खानले ४ बलमा १४ रन बनाउँदा करण केसी ११ रनमा अविजित रहे ।
पोखराका लागि अभिमन्यु मिथुनले २ तथा प्रतिश जिशीले १ विकेट लिएका थिए ।
प्रतियोगिताबाट बाहिरिसकेको फार वेस्ट अन्तिम खेलमा जितका साथ प्रतियोगिता समापन गरेको छ ।
हारसँगै पोखरा पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
लुम्बिनी अल स्टार , जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले भने यस अघि नै प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।
यि दुई टोलीले आईतबार हुने पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो ईलिमेटरमा विराटनगर र काठमाडौंको खेल भने सोमबार रहेको छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।