काठमाडौं । समर्थकलाई मैदानमा नै आएर आफ्नो मन पर्ने टिमलाई समर्थन गर्न राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अनुरोध गरेका छन् ।
राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा शुक्रबार भएको लुम्बिनी अल स्टारसँगको खेलपछि कुरा गर्दै समर्थक बिनाको मैदानमा खेल्दा खल्लो लागि रहेको बताए ।
'समर्थकहरु किन आईरहनु भएको छैन भन्दा पनि म आउन आग्रह गर्दछु ।' मल्लले भने 'हामीले एक अर्कालाई सर्पोट नगरे सफल हुन सक्दैनौ । जे जस्तो भए पनि नेपाल टी-ट्वान्टी लिग हामीहरु माझ आई सकेको छ । यो हाम्रो क्रिकेट हो यसलाई हामी कसरी सक्छौं त्यसै गरि सहयोग गर्नु पर्छ । जितमा मात्र नभई हामीले हरेक स्थितीमा साथ दिऔं । नेपाली क्रिकेटका लागि कसैले यतीको लगानी गरिरहेको छ भने यसलाई सहयोग गर्नु हाम्रो दायित्व पनि रहन्छ ।'
अरु दिन सबै जना आफ्नो काममा व्यस्त रहे पनि छुट्टीका दिनमा भने पहिलेका खेलमा देखिने गरेका क्राउड देखिने आश रहेको समेत मल्लले बताए ।
नेपाली क्रिकेटरले राम्रो खेल खेल्न नसकेका कारण मैदानमा दर्शकको उपस्थिति कम भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले बिहिबार बताएका थिए ।
शनिबारबाट सुरु भएको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा सोमबारसम्म दर्शकलाई मैदान प्रवेश शुल्क ३ सय राखिएको थियो । ३ सय शुल्कमा समर्थकको कम उपस्थिती भएकोले मंगलबारदेखि प्रवेश शुल्क १ सयमा झारिएको थियो ।
शुल्क १ सय बनाउँदा समेत दर्शकको संख्यामा बृद्धि नभएपछि दर्शकको संख्या बढाउन बुधबार देखि मैदान प्रवेशमा नि:शुल्क गरिएको थियो । तर, शुक्रबारबाट मैदान प्रवेशमा पुनः १ सय रुपैयाँ शुल्क राखिएको छ ।