काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई जितका लागि १ सय ५१ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो ।
लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ४० रनको ईनिङ खेले । लाहिरु मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाए । कुशल भुर्तेलले १९ रन बनाए ।
अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए ।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहोरा,एलेक्स ब्लेक,सुनाम गौतम र अनिल खरेलले समान १/१ विकेट लिए ।
चार खेलमा अपराजित लुम्बिनी पाँचौ जित निकाल्न चाहान्छ । लुम्बिनी ४ खेलमा ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
तीन खेलमा दुई जित हात पारेको काठमाडौं तेस्रो जितको खोजीमा रहेको छ । काठमाडौं ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।