काठमाडौं । नेपाली क्रिकेटरहरुले राम्रो खेल खेल्न नसकेका कारण मैदानमा दर्शकको उपस्थिति कम भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले बताएका छन् ।
राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा बिहिबार पोखरा एभेन्जर्ससँगको खेलमा प्लेयर अफ दि म्याच भएका पौडेलले खेल पछि नेपाली क्रिकेटरको प्रदर्शन खास हुन नसक्दा मैदानमा समर्थकको संख्या कम भएको हुन सक्ने बताए ।
'हामीले राम्रो क्रिकेट खेल्न नसक्दा सबै फ्यानहरु निराश हुनुहुन्छ, यो हाम्रो हार्ड टाईम हो ,हामीलाई समर्थन गरिरहनु होला,' पौडेलले भने 'पछि हामी राम्रो गर्ने छौ ।'
हाम्रो टोली हरेक रुपमा ब्यालेन्स छ । टोली उपाधीको दाबेदार रहेको समेत विराटनगर सुपर किंग्सका उपकप्तान समेत रहेका पौडेलले भने ।
'आजको खेलको बारेमा भन्नु पर्दा खेल्नका लागि पीच सहजै रहे पनि स्पिनरको बल खेल्न अलि कठिन रहेपनि समग्रमा पिच सहजै रहेको थियो,' पौडेलले भने 'सबै नेपाली खेलाडीको लागि यो ठूलो मौका हो तर त्यो अनुसारको प्रदर्शन भने आउन सकिरहेको छैन । प्रयास भने सबैले गरिरहनु भएको छ ।'
पहिलाको जस्तो पीच पनि रहेको नरहेकाले र सबै खेलाडीबाट धेरै खेल खेल्न पर्ने हुँदा राम्रो खेल हुने आफ्नो विश्वास रहेको उनले बताए ।