काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो ।
टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुरका लागि सन्दीप जोराले ५४ बलमा ३ चौका र ५ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले ।
चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले ।
जनकपुरका लागि वाल्टन र जोराले तेस्रो विकेटका लागि १ सय ५१ रनको अविजित साझेदारी गरेका थिए ।
फार वेस्टका लागि करण केसीले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो ।
फार वेस्टका लागि करण केसीले १७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए ।
भिम सार्कीले ३० बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनमा आउट भए।कप्तान हसमतुल्लाह शाहिदी १९ रनमा रन आउट भए भने हरिशंकर शाह १३ रनमा आउट भए ।
विनोद भण्डारीले १२ तथा हसिम अंसारीले ११ रन बनाए ।
जनकपुरका लागि ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए ।
जनकपुरले चौंथो खेलमा तेस्रो जित हात पारेको छ ।
जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
चार खेल खेलेर १ जित हात पारेको फार ४ खेलमा २ अंकका साथ अंक तालिकाको पाचौ स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।