काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडले जनकपुर रोयल्सलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो ।
फार वेस्टका लागि करण केसीले १७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए ।
भिम सार्कीले ३० बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनमा आउट भए।
कप्तान हसमतुल्लाह शाहिदी १९ रनमा रन आउट भए भने हरिशंकर शाह १३ रनमा आउट भए ।
विनोद भण्डारीले १२ तथा हसिम अंसारीले ११ रन बनाए ।
जनकपुरका लागि ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए ।
पहिलो र दोस्रो खेल जितेको जनकपुर तेस्रो खेलमा भने पराजित भएको थियो । जनकपुर चौंथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ ।
जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
तीन खेल खेलेर १ जित हात पारेको फार वेस्ट चौंथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ ।
फार वेस्ट ३ खेलमा २ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।