काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले विराटनगर सुपर किंग्सलाई जितका लागि १ सय ३६ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो ।
पोखराका लागि अमिर हम्जाले २५ बलमा अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए । कप्तान उपुल थरंगा २५ तथा प्रतिश जिशीले अविजित १३ रन बनाए । आसिफ शेख ११ रनमा आउट भए ।
विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ तथा साहब आलम,राज नानन र नन्दन यादवले समान १/१ विकेट लिए ।
तीन खेल खेलेको विराटनगरले पहिलो जितका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ । विराटनगर आज दोस्रो जितको खोजीमा रहेको छ ।
चार खेल खेलेर अंक विहीन पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखरा ४ खेलमा अंक विहीन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
यसै संस्करणको पहिलो भेटमा बुधबार विराटनगरले पोखरालाई ६ विकेटले पराजित गरेको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।