काठमाडौं । राजधानीमा यतिबेला लिगको रैनक छ । पाँच बर्षपछि फर्किएको लिगमा धेरै पुराना नयाँ खेलाडी दृष्यमा देखिएका छन् । तर एक खेलाडी गुपचुप हराएका छन् । उनी हुन्, राष्ट्रिय टिमका डिफेन्डर रविन श्रेष्ठ । जो पछिल्लो समय चोटका कारण मैदान बाहिर बस्दै आएका छन् ।
करिब चार महिना अघि साफ च्याम्पियनसिप तयारीको क्रममा उनले चोट बोके । थाईल्याण्डविरुद्वको खेलमा उनी घाईते भएका थिए । चोट निकै गहिरो देखिएपछि काठमाडौंको ग्रान्डी अस्पतालमा अप्रेशन गर्ने तयारीमा छन् । उनी अहिले घरमै स्वास्थ्य लाभ लिईरहेका छन् । राष्ट्रिय टिमका उम्दा खेलाडीलाई नेपाली फुटबलले निकै सम्झिरहेको छ ।
जनकपुरको जलेश्वरमा जन्मिएका रविनको घर अगाडी जिल्ला प्रहरी कार्यालयको मैदान थियो । जाने र फुटबल खेल्न क्रम चलिरहन्थ्यो । कहिले स्कुले प्रतियोगितामा खेल्थे त कहिले समय कटाउन ।
सानो छदाँ रविन फुटबल भन्दा टेबुल टेनिस धेरै खेल्थे । जलेश्वर क्रिकेट टिममा समेत उनी अटाउन सफल भएका थिए । रविन सानैबाट खेलकुदका शैखिन थिए । धेरै खेलमा आबद्व भएपनि उनीको लगाव फुटबलमै थियो । घर नजिकै रंगशाला थियो । उनी नियमित जसो रंगशाला निस्कन्थे, सिनियर खेलाडीको खेल हेर्थे ।
एक दिन उनले पनि मैदान छिर्ने मौका पाए । उनको खेलबाट सिनियर खेलाडी प्रभावित भए । लगत्तै उनी जलेश्वरको सिनियर टिमको नियमिति सदस्य बने ।
लगत्तै उनले जलेश्वरको वडा स्तरिय प्रतियोगिता खेल्ने मौका पाए । सो प्रतियोगितामा उनीले सबैको मन छुने फुटबल खेले । उनी विद्यालय स्तरीय १० बर्ष मुनीको टोलीमा अटाए ।
सन् २००३ मा अन्डर १० को छनोट खेलका लागि उनी जलेश्वरको टिममा परेर काठमाडौं आएका थिए । छनोटमा विराज महर्जन र भरत खवास पनि थिए । सय खेलाडी छनोट गर्ने तयारी थियो । प्राविधिक कारण देखाउदै एन्फाले ८० खेलाडी छनोट गर्यो । विडम्बडा रविनको नाम ८१ औ नम्बरमा रह्यो ।
उनी निराश अनुहार लिएर घर फर्किए । त्यही समय नेपालगंञ्जमा खुकुरी गोल्ड कप चलिरहेको थियो । जलेश्वरले प्रतियोगिता खेल्ने तय भयो, रविन टोलीमा अटाए । केही समयमात्र उनले मैदान छिर्न पाए । उनी भन्दा धेरै सिनियर खेलाडी टोलीमा थिए ।
एन्फामा नयाँ खेलाडी छनोटको प्रक्रिया सुरु भएको थियो । केही दिनपछि एन्फा एकेडेमीबाट उनलाई फोन आयो । एन्फाले सभापति कप अन्डर १४ नामको प्रतियोगिता आयोजना गरेको थियो ।
खासमा रविनलाई प्रतियोगिता खेल्न मनै थिएन । सानो गौचरणमा भएको सभापति कपमा उनी जलेश्वर टिमको नेतृत्व गर्दै काठमाडौं आए । प्रतियोगितामा रविनले चार खेल खेलेका थिए । एक खेलमा उनले एक्लै पाँच गोल गरे । अर्को खेलमा ३ गोल गरे । प्रतियोगितामा उनी राम्रो प्रभाव छाड्न सफल भए ।
खेल लगत्तै उनी घर फर्कने तयारीमा थिए । तर उनलाई एन्फाबाट आयो । विभिन्न चरण पार गर्दै उनी अन्तिममा एन्फाको छनोटमा परे, स्ट्राईकरको रुपमा ।
सन् २००४ मा भएको अन्डर १४ फेस्टिबलमा उनी सहभागि भए । राम्रै खेल प्रर्दशन गरे उनले । भुटानसंग भएको पहिलो खेलमा नेपालले १–१ को बराबरी खेल्यो । नेपालका लागि रविनले नै गोल गरेका थिए । सबै खेलमा रविन गोल गर्न सफल भए । प्रतियोगिताको बिजेता नेपालनै भयो ।
प्रतियोगिता जिते वापत तत्कालिन राजकुमार पारस शाहले उनलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । रविनले जिवनमा कमाएको पहिलो रकम त्यही हो ।
लगत्तै एन्फाले उनलाई घर फर्काउने निर्णय गर्यो । प्रतियोगिताका लागि मात्र छनोट गरिएको भन्दै एन्फाले उमेर समुहमा तत्काल स्थान दिन नसक्ने बतायो ।
‘फुटबलमा केहि गर्छु भनेर आएको थिए, फुटबलमै जिवन बिताउन्छु भन्ने थियो । तर एन्फा एकेडेमीमा नपर्दा नरमाईलो लागेको छ । छनोट नभएपनि जिल्ला गएर बस्नु बाहेक मसंग अन्य विकल्प छैन ।’ रविनले एन्फासमक्ष भनेका थिए ।
उनी गाउँ फर्किए । लगत्तै उनको बुवालाई एन्फाबाट फोन आयो । रविन फेरी काठमाडौं हान्निए ।
जुन उमेर समुहमा उनी छनोट भएका थिएनन्, त्यही टोलीसंग उनले २००७ मा भएको यु १७ एसियाड खेल्ने मौका पाए । लगत्तै नेपालले एसिया कप खेल्यो । जापान र उत्तर कोरियासंग हारेको नेपालले अन्तिम खेलमा सिंगापुरविरुद्व जित आत्मसाथ गर्याे।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका उनी नेपाल फर्कने वित्तिकै संकटा क्लबमा आबद्ध भए । क्लबले उनी लगायत ११ जनालाई मासिक ७ हजार ५ सय रुपैयाँ पारिश्रमिक तोकेर क्लबमा राख्यो ।
व्यवसायीक रुपमा उनको पहिलो क्लब संकटा हो । ६३ सालको लिग रविनले संकटाको जर्सीमा खेले । लिग अवधिभर उनले उत्कृष्ट प्रर्दशन गरे । पुलिसविरुद्व अझै जमेर प्रर्दशन गरे । लगत्तै उनलाई पुलिस क्लबले अनुबन्धनको प्रस्ताव अघि सार्याे ।
त्यो समय पुलिस स्वर्णिम पुस्ताका खेलाडीबाट सु–सज्जित थियो । रविनले पुलिसको मौका सहजै स्विकार गरे । अनन्त थापा, भोला सिलवाल, रमेश बुढाथोकी जस्ता स्टार खेलाडीसंग खेल्ने उनको समेत सपना थियो । त्यही बर्ष पुलिसले लिग समेत उचालेको थियो ।
पुलिससंग आबद्ध भएलगत्तै उनले प्रेसिडेण्ड कप खेल्ने मौका पाए । तर क्लबमा उनको पोजिसन निश्चित भएको थिएन । स्ट्राईकरको भुमिका निभाउने उनी कुनै समय डिफेन्सबाट पनि खेल्थे । विस्तारै उनी स्ट्राईकरबाट डिफेन्स पोजिसनमा तयार भए ।
फुटबल ईतिहासमा पहिलो पटक पाकिस्तानमा पुलिस क्लब प्रेसिडेन्ट कपको फाईनल पुगेको थियो । दुर्भाग्यवस फाईनल खेल उसले गुमाउन पुग्यो ।
पुलिसमा खारिएको प्रतिभाले सन् २००८ बाट उनलाई राष्ट्रिय टोलीमा पुर्यायाे । २००८ को एएफसी च्यालेन्ज कपमा उत्तर कोरियाबिरुद्धको खेलवाट उनले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
पहिलो खेल नेपालले म्यानमारसंग गुमाएको थियो । दोस्रो खेल उत्तर कोरियासंग थियो । खेल अघि नेपाली टिमको बैठक बस्यो, प्रशिक्षकले रविनलाई खेल्नकालागि तयार बस्न निर्देश गरे ।
‘प्रशिक्षकको कुरा सुन्दा मलाई अच्चम लाग्यो । त्यो समय मेरो जीवनको अमुल्य पल थियो । राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्दै थिए । रातभरि मलाई निन्द्रा लागेन ।’ रविन सम्झिन्छन् ।
तर रविनले उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिममा आफ्नो प्रभाव देखाईसकेका थिए । नजितामा नेपाल हारेको थियो, खेल रविनले जितेका थिए ।
सन् २०११ मा दिल्लीमा भएको साफमा रविनको उत्कृष्ट प्रर्दशनले निरन्तरता पायो । प्रतियोगितामा उनी घाईते समेत भए । बिराज महर्जनले क्रस गरेको बल भेट्याउन खोज्दा उनी पाकिस्तानी खेलाडीसंग ठोक्किएर घाईते भएका थिए । उनले पहिलो पटक ठुलो चोट त्यही बोके ।
त्यसपछि नेपालमा भएको साफ च्याम्पियनसिप रविनका लागि स्मरणीय रह्यो । पातलो ज्यान र होचा कदका खेलाडी रविन साफमा छाएका थिए । डिफेन्स लाईनबाट बल अघि बढाउदै ‘थर्ड जोन’मा गएर उनले निकालेका क्रम निकै लोभलाग्दा थिए । प्रतियोगितामा रविन उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसपछि रविनले नेपाली फुटबलमा ठुलो नाममात्र पाएनन्, आफ्नो स्तर पनि बढाए ।
‘सबै खेलमा राम्रो तरिकाले खेल्ने प्रयास गर्छु । आधुनिक फुटबलको प्यासन छ । टिम खेलमा विश्वास गर्छु । टिमका लागि खेल्ने गर्छु ।’ उनी भन्छन् । रविन करिब चार महिना अघि साफ च्याम्पियनसिपको दौरान घाईते भए । मैत्रिपुर्ण खेलमा थाईल्याण्डविरुद्व उनले चोट बोके । त्यसको केही समयपछि काठमाडौंको ग्रान्डी अस्पतालमा अप्रेशन गर्ने तयारीमा छन् ।
उनको उपचारमा नेपाल पुलिस क्लब र एन्फाले सहयोग गरिरहेका छन् । उनी अहिले मैदान फर्कने दिन कुरेर बसेका छन् ।