संकटमा नेपोली

काठमाडौं। केभिन डि ब्रुइनाको अनुपस्थितिमा नेपोलीमा झनै संकट गहिरिँदै गएको छ। आइतबार एन्टोनियो कोन्तेको प्रशिक्षणमा रहेको नेपोली बोलोग्नासँग २–० ले पराजित भयो।
योसँगै नेपोली लगातार तेस्रो खेलमा गोल गर्न असफल रह्यो। त्यो पनि विपक्षी टोलीले १७ वर्षका तेस्रो रोजाइका गोलकिपरलाई मैदानमा उतारेको दिन थियो।
यो हारसँगै नेपोली सिरी ‘ए’ को शीर्ष स्थानबाट झरेको छ। रोमा र इन्टर मिलान दुबैले २–० को जित हात पारेपछि अंकतालिकामा नेपोलीलाई पछाडि पारेका छन्। इन्टरले लाजियो र रोमाले उडिनेजेमाथि जित हात पारेका हुन्।
हाल शीर्ष पाँच टोलीबीच तीन अंकको अन्तर छ। ११ खेलबाट २४ अंकसहित शीर्ष दुईमा रहेको इन्टर र रोमाभन्दा नेपोली र एसी मिलान दुई अंकले पछि छन्। बोलोग्नाभन्दा एक अंकले अघि छन्।
डि ब्रुइना गत महिनाको इन्टरविरुद्धको ३–१ को जितमा घाइते भएका थिए र उनी नयाँ वर्षअघि फर्किने सम्भावना कम छ।
उनको अनुपस्थितिपछि नेपोलीले पहिलो खेलमा लिच्चेमाथि १–० को जित निकालेको थियो। तर, त्यसपछि कोमो र च्याम्पियन्स लिगमा आइन्त्राख्ट फ्रान्कफर्टसँग गोलरहित बराबरीमा रोकिएको थियो।
शनिबार एसी मिलानले पार्मासँग बराबरी खेलेपछि नेपोलीलाई जित निकाल्न सके शीर्ष स्थान पुनः फर्किने अवसर थियो। तर, खेलको आठौं मिनेटमै बोलोग्नाका मुख्य गोलकिपर लुकास स्कोरुप्स्की मांसपेशीको चोटका कारण मैदानबाट बाहिरिए र १७ वर्षीय मास्सिमो पेसिनाले पहिलो पटक सिनियर टोलीका लागि खेल्ने मौका पाए।
तर, नेपोलीले युवा गोलकिपरलाई खासै परीक्षण गर्न सकेन। बरु दोस्रो हाफको पाँचौं मिनेटमै बोलोग्नाले अग्रता लियो। घाइते जोनाथन रोवेको सट्टामा मैदानमा आएका निकोलो क्याम्बियाघीले बायाँ साइडबाट बल काट्दै थिज डालिङ्गालाई सजिलो गोलको मौका सिर्जना गरे।
६६औं मिनेटमा बोलोग्नाले अग्रता दोब्बर बनायो। कोलम्बियाली डिफेन्डर जोन लुकुमीले क्रसमा हेड गर्दै आफ्नो पहिलो सिरी ‘ए’ गोल गरे।






-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



