काठमाडौं । पोखरा एभेन्जर्सले पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लगातार तेस्रो हार व्यहोरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोरेको हो ।
लुम्बिनीको भने यो लगातार तेस्रो जित हो ।
पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ तथा श्याड्ली भान स्कलक्लिकले अविजित ३१ रन बनाए । उन्मुक्त चन्दले २२ रन बनाए । अनिल शाहले १९ रन बनाउँदा गुलसन झा १० रनमा आउट भए ।
पोखराका लागि विपिन खत्री र कुशल मल्लले समान २/२ तथा प्रतिश जिशी,अभिमन्यु मिथुन र जाहिर खानले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
पोखराका लागि कुशल मल्लले ३१ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ६१ रनको अर्धशतकिय ईनिङ खेले ।
१० ओभरमा २७ रन मात्र बनाएको पोखरा मल्लको बिष्फोटक ईनिङको सहयोगमा सम्मानजनक योगफल सम्म पुग्यो।
उपुल थरंगाले ४२ रन जोड्दा अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका लागि श्याड्ली भान स्कलक्लिकले ३ तथा किशोर महतो र गुलसन झाले समान २/२ विकेट लिए ।
लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छन् ।