काठमाडौं । जनकपुर रोयल्सले नेपाल टी-ट्वान्टी लिगमा विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार पोखरा एभेन्जर्सलाई ५ विकेटले हराउँदै जनकपुरले सुखद सुरुआत गरेको हो ।
पोखराको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरालाई काठमाडौं नाइट्सले हराएको थियो।
पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर १ सय ३९ रन जोड्दै पूरा गर्यो ।
जनकपुरको जितमा सन्दीप जोराले अविजित रहदै सर्वाधिक ४० रन बनाए ।
यस्तै सागर पुनले ३८ रन जोड्दा चाडविक वाल्टनले १९ रन बनाए ।

पोखराका जाहिर खानले ३ तथा मौषम ढकाल र शरद भेषवाकरले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुदै १ सय ३८ रन बनाएको थियो ।
पोखराका लागि आसिफ शेखले ५० रनको अर्धशतकीय ईनिङ खेले । सिद्धान्त लोहनीले २९ तथा अमिर हम्जाले १८ रन बनाए । प्रतिश जिसीले २८ रन बनाउँदा उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जनकपुरका लागि केसरिक विलियम्स ३ तथा शरफुदिन असरफ,पवन सराफ र ललित राजवंशीले समान २/२ विकेट लिए।
यस जितसँगै जनकपुरले पहिलो खेलमा २ अंक जोडेको छ । जनकपुर तेस्रो स्थानमा रहेको छ ।
पोखराले दुई खेलमा अंक जोड्न सकेको छैन । अंक विहीन पोखरा पाँचौं स्थानमा रहेको छ ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने क्यानले जनाएको छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने क्यानले जनाएको छ ।