काठमाडौं । २०२३ को ईण्डियन प्रिमियर लिग(आईपीएल)को अक्सन आज शुक्रबार हुदैछ ।
भारतको कोची शहरमा १६ औं संस्करणको लिगको अक्सन नेपाली समयअनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ ।
अक्सनमा अधिकतम ८७ स्थानका लागि ४ सय ५ खेलाडी बीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीले बढीमा २५ जना मात्र खेलाडी अनुबन्ध गर्न पाउने छन् ।
अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी बीच प्रतिस्पर्धा हुदैछ । विदेशी खेलाडीमा ४ खेलाडी एसोसियट देशबाट छन् । ३० विदेशी खेलाडीको स्थान बाँकी छ । प्रत्येक टोलीले बढीमा ८ विदेशी खेलाडी राख्न पाउँछन् ।
आइपिएलमा आफ्नो न्यूनतम मूल्य २ करोड भारु राख्ने १९ विदेशी खेलाडी छन् । यस पटक भारतीय कुनैपनि खेलाडीले आफ्नो न्यूनतम मूल्य २ करोड राखेका छैनन् । ११ खेलाडीले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् । टिमको कमजोरी सुधार गर्ने यो नै हरेक फ्रेन्चाइज टोलीको लागि अन्तिम अवसर हो ।
व्यावसायिक क्रिकेटमा लागेपछि आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । सबै फ्रेन्चाइज टोलीको आवश्यक र खेलाडीको प्रदर्शन हेर्दा आइपिएल मिनी अक्सन २०२३ मा सर्वाधिक मुल्य पाउने सम्भावना भएका पाँच विदेशी खेलाडी यस प्रकार छन् :
५) निकोलस पुरन

वेस्टइन्डिजका विकेटकिपर तथा पुर्व कप्तान निकोलस पुरन आक्रामक ब्याटरको रुपमा चिनिन्छन् । २७ वर्षीय पुरनले आफ्नो न्यूनतम मूल्य अक्सनमा २ करोड भारु राखेका छन् । पुरनलाई गत संस्करण सनराइजर्स हैदराबादले १० करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।
पुरन विकेटकिपर र विष्फोटक ब्याटरमा विकल्प हुन् । उनलाई मध्यक्रम र फिनिसरको भूमिकामा फ्रेन्चाइज टोलीले प्रयोग गर्न सक्छन् ।
४) ह्यारी ब्रुक

इंग्ल्यान्डका युवा स्टार ह्यारी ब्रुकलाई आगामी विश्व क्रिकेटका सुपर स्टार रुपमा हेरिएको छ । टि-ट्वान्टी विश्वकप च्याम्पियन इंग्ल्याण्ड टोलीमा रहेका ब्रुक तीनै फम्र्याटको क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् ।
ब्रुकले अक्सनमा न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् । मध्यक्रमका भरपर्दा ब्याटर ब्रुकलाई किन्न धेरै फ्रेन्चाइज टोलीहरुबीच उच्च प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २३ वर्षीय ब्रुकले २० टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा ३ सय ७२ रन बनाएका छन् ।
३) क्यामरन ग्रीन

अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीनमाथि यस मिनी अक्सनमा पैसाको वर्षा हुने अनुमान गर्न सकिन्छ । ग्रीन तीव्र गतिको बलिङसँगै विष्फोटक ब्याटिङ गर्ने गर्दछन् ।
२३ वर्षीय युवा अलराउन्डर ग्रीनले आफ्नो न्यूनतम मूल्य २ करोड भारु राखेका छन् । उनी तीव्र गतिमा पनि राम्रो बलिङ गर्ने गर्दछन् ।
२) साम करन

इंग्ल्यान्डलाई टि-ट्वान्टी विश्वकप जिताउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका करनले १६ औं संस्करणको आइपिएल अक्सनमा महँगो मूल्य पाउँने अनुमान गर्न सकिन्छ । साम करनले अक्सनमा २ करोड भारु न्यूनतम मूल्य राखेका छन् ।
करनले २०२२को टी-ट्वान्टी विश्वकपमा ६ खेलमा १३ विकेट लिएका थिए । करनलाई आ आफ्नो टोलीमा अनुबन्ध गराउँन फ्रेन्चाइज टोलीबीच कडा प्रतिस्पर्धाको सम्भावना रहेको छ ।
१ ) बेन स्टोक्स

इंग्ल्यान्डका सुपर स्टार बेन स्टोक्स यस अक्सनमा सबैभन्दा बढी मूल्य पाउन सक्ने खेलाडीको रुपमा हेरिएको छ । अनुभवी, कप्तानी, ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा बेन स्टोक्स अब्बल छन् ।
स्टोक्सले आफ्नो न्यूनतम मूल्य अक्सनमा २ करोड भारु राखेका छन् । गतवर्ष बुबाको मृत्युको कारण विश्व क्रिकेटबाट नै विश्राम लिएका स्टोकले आईपीएल पनि खेलेनन् ।