काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता फेरि सर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले तयारी नपुगेको भन्दै भोलि शुक्रबारबाट सुरु हुने नेपाल टी-ट्वान्टी लिग फेरि सार्ने तयारी गरेको हो ।
क्यानले आधिकारिक रुपमा प्रतियोगिता सरेको बारे जानकारी दिएको छैन ।
तर, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता सर्ने पुष्टि गरे ।
'आवश्यक तयारी पुगेको छैन । त्यसैले केहि दिन ढिला हुन्छ । हामी छलफलमा छौँ । छलफलपछि नयाँ मिति आउने छ,' उनले भने ।
यस अघि दुई पटक स्थगित प्रतियोगिता पुस ८ बाट पुस २६ गतेसम्म गर्ने जनाएको थियो।
क्यानले खेल तालिका समेत सार्वजनिक गरिसकेको थियो ।
टियु क्रिकेट मैदानमा पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन्।