काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा फ्रेन्चाईज टोली जनकपुर रोयल्सको कप्तानी जमैकाका ट्रेभोन ग्रिफिथले गर्ने भएका छन् ।
जनकपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ब्याट्सम्यान ट्रेभोनले कप्तानी गर्ने जनाएको छ ।
कार्यक्रममा बोल्दै ट्रेभोनले कप्तानी पाउँदा खुशी लागेको बताउँदै जनकपुरलाई उपाधि दिलाउने लक्ष्य रहेको बताए ।
जनकपुरबाट वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र चाडविक वाल्टनले समेत खेल्ने छन् ।
अफगानिस्तानका अलराउण्डर शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, श्रीलंकाका अशान प्रियान्जन पनि जनकपुरमा आबद्द छन् ।
जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।
जनकपुरमा ललित राजवंशी,सुसन भारी,आदिल आलम,सन्दिप जोरा,दिलिप नाथ,सागर पुन,पवन सरार्फ,जितेन्द्र मुखिया,खडक बोहोरा र राजेश पुलामी रहेका छन् ।
जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।