काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली जनकपुर रोयल्सले अफगानिस्तानका अलराउण्डर शरफुदिन असरफलाई अनुबन्ध गरेको छ ।
जनकपुरले मंगलबार एक विज्ञप्ति निकाल्दै असरफलाई अनुबन्ध गरिएको जनाएको छ ।
जनकपुरले तेस्रो विदेशी खेलाडीको रुपमा असरफलाई अनुबन्ध गरेको हो ।
यस अघि जनकपुरले वेस्ट इन्डिजका चाडविक वाल्टन र केसरिक विलियम्सलाई अनुबन्ध गरेको थियो । वाल्टन सोमबार नेपाल आईसकेका छन् ।
जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।
जनकपुरमा नेपाली खेलाडी ललित राजवंशी,सुसन भारी,आदिल आलम,सन्दिप जोरा,दिलिप नाथ,सागर पुन,पवन सरार्फ,जितेन्द्र मुखिया,खडक बोहोरा र राजेश पुलामी रहेका छन् ।
यस्तै जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । पटवाल सोमबार नेपाल आईसकेका छन् ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । जनकपुरको पहिलो खेल पुस ९ मा पोखरा एभेन्जर्ससँग रहेको छ ।
यस लिगमा ६ टोलीको सहभागिता रहने छ ।
लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।