काठमाडौं । पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा इंग्ल्याण्डका लेग स्पिनर रिहान अहमदले डेब्यु खेलमा ५ विकेट लिने सबैभन्दा कान्छो बलर बनेका छन् ।
घरेलु टोली पाकिस्तानसँगको तेस्रो टेस्टको तेस्रो दिन उनले पाँच विकेट लिँदै अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको ११ वर्ष पुरानो किर्तिमान तोडेका हुन् ।
रिहानले १८ वर्ष १ सय २६ दिनको उमेरमा टेस्ट क्रिकेटको डेब्यु खेलमा ५ विकेट लिएका हुन् । कमिन्सले २०११ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा यो किर्तिमान बनाएका थिए । सो समयमा कमिन्स १८ वर्ष १ सय ९३ दिनका थिए ।
कप्तान बाबर आजम र साउद सकीलले पाकिस्तानका लागि उत्कृष्ट साझेदारी गरिरहेका बेला रिहानले आजम र सकिलको साझेदारी तोडेका थिए ।
उनले मोहम्मद रिजवान, मोहम्मद वासिम र आगा सलमानको विकेटको मद्दतमा डेब्यु खेलमा पाँच विकेट लिएका थिए । उनको यो प्रदर्शनले गर्दा नै पाकिस्तान २ सय १६ रनमा अलआउट हुँदै इंग्ल्याण्डलाई १६७ रनको लक्ष्य दिएको थियो ।
रेहान टेस्ट डेब्यूमा पाँच विकेट लिने इङ्ल्यान्डका ५३ औं बलर बनेका छन् ।