काठमाडौं । इंग्ल्याण्डका क्रिकेटर क्रिस वोक्सले १६ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपीएल) अक्सनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
इंग्लिस अलराउण्डर वोक्सले काउन्टी क्रिकेटमा सहभागीता जनाई इंग्ल्याण्डको टेस्ट टोलीलाई प्रतिनिधित्व गर्ने पुनः अवसर दिलाउन आईपीएलबाट पछि हटेका छन् । एसेज सिरिजमा पुनः स्थान बनाउने वोक्सको लक्ष्य रहेको छ ।
वोक्सले सन् २०१३ मा इङ्ल्याण्डमा भएको एसेज सिरिजको अन्तिम खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । वोक्सले ४५ टेस्ट खेलमा १ हजार ६ सय ७५ रन तथा १ सय ३० विकेट लिएका छन् ।
'आईपीएल छोड्ने निर्णय सजिलो निर्णय थिएन,' वोक्सले भने 'आईपीएल एक यस्तो प्रतियोगिता हो र आर्थिक रूपमा यो धेरै राम्रो हुन सक्छ । तर, म केवल अर्थको आधारमा निर्णय लिन चाहन्नथें। यो एक कठिन परिदृश्य हो । भर्खरै विश्वकप जितेकोले मेरो अधिक मुल्यमा अनुबन्ध हुने सम्भावना उच्च हुन सक्थ्यो ।'
वोक्सले ३ संस्करणको आईपीएल खेलेका छन् । तीनै संस्करण उनले फरक फरक टिमका लागि प्रतिनिधित्व गरेका थिए । सन् २०१७ मा कोलकाता नाइट राइडर्स, २०१८ मा रोयल च्यालेन्जर्स बेंग्लोर र २०२१ मा दिल्ली क्यापिटल्सका लागि उनले खेलेका थिए ।
वोक्सले २१ आईपीएल खेलमा ७८ रन तथा ३० विकेट लिएका छन् ।
२०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।