काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले विश्वकप बिजेता भारतीय खेलाडीलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले आइतबार भारतका लागि यू-१९ विश्वकप जिताउन सफल कप्तान उन्मुक्त चन्दलाई अनुबन्ध गरिएको जनाएको छ ।
२९ वर्षीय चन्दले २०१२ मा अष्ट्रेलियामा आयोजना भएको यू-१९ विश्वकपमा भारतलाई च्याम्पियन बनाएका थिए । चन्द बीबीएल खेल्ने पहिलो भारतीय खेलाडी समेत हुन् ।
'उनको घरेलु र फ्रेन्चाइज क्रिकेट अनुभव हाम्रो टीमको लागि अमूल्य हुनेछ । र हामी उनलाई धेरै प्रतिक्षा गर्न सक्दैनौं ।' लुम्बिनीले चन्दका बारेमा भनेको छ ।

लुम्बिनीले यस अघि दक्षिण अफ्रिकाका क्रिकेटर क्लाउड भान शाल्विक तथा आयरल्याण्डका क्रिकेटर ह्यारी टेक्टरलाई अनुबन्ध गरेको थियो ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग पुस ८ गतेबाट सुरु हुनेछ ।लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन् ।
लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे तथा आकाश चन्द लगायत नेपाली खेलाडी रहेका छन् ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।