काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली जनकपुर रोयल्सले वेस्ट इन्डिजका चाडविक वाल्टनलाई अनुबन्ध गरेको छ ।
जनकपुरले शनिबार एक विज्ञप्ति निकाल्दै वाल्टनलाई अनुबन्ध गरिएको जनाएको छ ।

वाल्टनले वेस्ट इण्डिजका लागि २ टेस्ट,९ एकदिवसीय अन्तराष्ट्रिय र १९ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
उनले १ सय ८१ टी-ट्वान्टीमा ३ हजार ४ सय ४२ रन बनाएका छन् ।
जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।
यस्तै जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
सोमपाल कामी मार्की खेलाडी रहेको जनकपुरमा ललित राजवंशी,सुसन भारी,आदिल आलम,सन्दिप जोरा,दिलिप नाथ,सागर पुन,पवन सरार्फ,जितेन्द्र मुखिया,खडक बोहोरा र राजेश पुलामी रहेका छन् ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।