काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मुख्य प्रशिक्षक नियुक्तिमा क्यानले हतार नगर्ने बताएका छन् ।
यस अघि भएका समस्या र नेपाली क्रिकेटको दीर्घकालिन हितलाई ध्यानमा राखेर मुख्य प्रशिक्षक नियुक्ति गर्ने मल्लले बताए ।
'अबको तीन महिना नेपाली क्रिकेटका लागि महत्वपुर्ण रहेको तपाईहरु सबैलाई थाहा नै छ,' मल्लले खेलपाटीसँग भने 'प्रशिक्षक नियुक्ति कुन प्रकृयाबाट गर्ने भन्ने बारेमा हामी छलफलमा नै रहेका छौ ।'
नेपाल टी-ट्वान्टी लिगको लागि सबै खेलाडी व्यस्त रहने भएकोले यस विषयमा बढी हतार नगर्ने मल्लले बताए ।
'अब केही समय सम्पूर्ण खेलाडी नेपाल टी-ट्वान्टी लिगमा व्यस्त रहने हुँदा राष्ट्रिय टिमको प्रशिक्षण अगाडी पनि बढ्ने छैन ,' उनले भने 'फिटनेस ट्रेनर हामीसँग नै हुनुहुन्छ । उहाँसँग हरेक खेलाडी परामर्शमा रहिरहन्छन् ।'
भारतीय प्रशिक्षक प्रभाकरले बिहीबारबाट लागु हुनेगरी राजीनामा दिएका थिए । राजिनामा क्यानले बिहिबार नै स्विकृत गरिसकेको जनाएको छ।
राजीनामा दिनु अघि नै प्रभाकर भारत फर्किसकेका थिए ।
तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो।
क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।
प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो ।
यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा समेत दरार आएको थियो । जसको कारण प्रभाकरको राजीनामा आएको हो ।