काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली जनकपुर रोयल्सले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
जनकपुरले बिहीबार एक विज्ञप्ति निकाल्दै पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
पटवाल नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक हुन् ।
प्रशिक्षकको रुपमा नेपाल फर्कन पाउँदा पटवाल खुशी देखिए ।
'म फर्कन पाउँदा उत्साहित छु । नेपाल टी-ट्वान्टीमा काम गर्न उत्साहित छु,' उनले भने ।
जनकपुरका टिम मालिक गोविन्द खण्डेलवालले पटवाललाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेपछि टिमले सफलता पाउनेमा आफु आशावादी रहेको बताए ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।