काठमाडौं । प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगिताको स्पाइनल कर्ड इन्जुरीको पुरुष ५० मिटरमा अकल तामाङले बिहीबार स्वर्ण जितेका छन् । सोही स्पर्धाको महिलामा पारा ओलम्पियन लक्ष्मी कुँवर पहिलो भइन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ संघको व्यवस्थापनमा भएको प्रतियोगिताको एम्बुटीतर्फ पुरुष ५० मिटरमा भीमबहादुर कुमाल तथा महिला २५ मिटरमा सरिता थुलुङ पहिलो भए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जोरपाटीमा भएको एकदिने प्रतियोगितामा १६ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।