काठमाडौं । उपाधि दाबेदार तथा लिग लिडर सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।
शनिबार भएको खेलमा सरस्वती युथ क्लबलाई २ - ० गोल अन्तरले पराजित गर्दै मनाङले शतप्रतिशत जित निकालेको हो ।
हल्चोकस्थित एपीएफको मैदानमा मनाङलाई जित दिलाउन अन्जन बिष्ट र आफिज ओलावालेले समान एक एक गोल गरे । पहिलो हाफमा सरस्वतीको डिफेन्स चिर्न नसकेको मनाङले दोस्रो हाफमा गोल गर्दै सहज जित निकाल्यो ।
तुलनात्मक कमजोर टिम सरस्वतीविरुद्ध मनाङले खेलको ५५ औं मिनेटमा अन्जनको गोलबाट अग्रता बनाएको थियो । डिबक्स भित्रबाट अन्जनले प्रहार गरेको पावरफुल बलले सिधै पोस्टको जाली चुमेको थियो ।
त्यसपछि खेलको ६८ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २ - ० को जित दिलाए ।
खेलमा मनाङका कमल श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
जितसंगै मनाङले ५ खेलबाट १५ अंक जोडेको छ । र, मनाङले दोस्रो स्थानको थ्री स्टारविरुद्ध ३ अंकको अग्रता बनाएको छ । थ्री स्टारको १२ अंक छ ।
मनाङसंग पराजित सरस्वती भने ६ अंक सहित तालिकाको सातौं स्थानमा छ ।