काठमाडौं । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो।
यससँगै इरानले वेल्सलाई पहिलो पटक पराजित गरेको छ ।
इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे ।
अहमद बिन अलि स्टेडियममा भएको रोमान्चक खेलमा दुबै गोल इरानले खेलको इन्जुरी समयमा गरेको हो ।
खेलको ९८ औं मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको १०१ औं मिनेटमा रामिनले गोल गर्दै इरानलाई २-० को रोमान्चक जित दिलाए ।
त्यसअघि इरानका अलीले १६ औं मिनेटमा गोल गरेपनि मान्यता पाएन । भीएआरले उनलाई अफसाइड देखाएको थियो ।
दोस्रो हाफमा इरानको दुई प्रहार पोस्टमा लाग्दै फर्किएको थियो ।
यस्तै खेलको ८६ औं मिनेटमा वेल्स १० खेलाडीमा समेटियो ।
इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए ।
वेल्सले पनि खेलमा गोलको केहि उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर , सफल भएन् ।
यस जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
समूह 'बी' मा इरान दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा इरान इंग्ल्यान्डसँग ६-२ ले पराजित भएको थियो ।
वेल्सले २ खेलमा १ अंक जोडेको छ । वेल्स पुछारमा रहेको छ ।
वेल्स पहिलो खेलमा अमेरिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।