काठमाडौं । भारोत्तोलनका कीर्तिमानी खेलाडी कमल बहादुर अधिकारी र तेक्वान्दोकी यान कुमारी चौलागाईसहित ६ खेलाडी खेलकुद प्रतिभा सम्मानबाट सम्मानित भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार कमल र यानसहित ६ खेलाडीलाई खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको हो । सम्मानित हुने अन्य खेलाडीमा एथलेटिक्सका विश्वरुपा बुढा र सोम बहादुर कुमाल, भलिबलकी निता कुमारी शाह र पारा तेक्वान्दोकी रन्जना धामी रहेका छन् ।
यस्तै एथलेटिक्स प्रशिक्षक हरि बहादुर रोकाया, ब्याडमिन्टन रेफ्री दिपक थापा, खेल चिकित्सक अजय समशेर जबरा र संघसस्थाबाट नेपाल बोसिया संघ समेत सम्मानित भएका छन् ।
गत अार्थिक वर्षमा नेपाली खेलकुदमा याेगदान गरेका अाधारमा मन्त्रालयले खेलाडीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुने ६ खेलाडी र खेल पदाधिकारीलाई समान १/१ लाख नगदसहित मन्त्रालयले सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिब केशब कुमार विष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिना लगायतले सम्मानित गरे ।