काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ ।
बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो ।
विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो ।
अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे ।
डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो ।
एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो ।
खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।
खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रह्यो ।
कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे ।
खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए ।
खेलको ७५ औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।
गाभी विश्वकपमा स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । १८ वर्ष ११० दिनका गाभी पेले र मानुएल रोससपछि विश्वकपमा गोल गर्ने तेस्रो कान्छा खेलाडी बने ।
खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए ।
यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
समूह 'ई' को स्पेन शीर्ष स्थानमा रहेको छ ।
हारबाट विश्वकपको सुरुआत गरेको कोस्टारिका पुछारमा रहेको छ ।