काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले ३-० गोलको अग्रता बनाएको छ ।
खेलको ११ औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए । ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो ।
खेलको २१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो ।
त्यसपछि खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रहेको छ ।
कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे ।