काठमाडौं । युरोपियन राष्ट्र स्पेनले आज बुधबार सेन्ट्रल अमेरिकी राष्ट्र कोस्टारिकाविरुद्ध खेल्दै कतार विश्वकपको सुरुआत गर्दैछ ।
समूह 'ई' मा रहेको स्पेनले अल थुमामा स्टेडियममा कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
स्पेनलाई यस पटक उपाधि दाबेदार टोलीको रुपमा हेरिएको छ । एक पटकको च्याम्पियन स्पेन कोस्टारिकाविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।
कठिन मानिएको यस समूहमा ३ अंकले निकै महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैले स्पेन पहिलो खेलमा जितकै लागि मैदान उत्रनेछ । यस समूहमा स्पेनले जर्मनी र जापानको समेत समान गर्नेछ ।
विश्वकपमा स्पेनले पहिलो पटक युरोपियन मुलुक भन्दा बाहिरको टोलीसँग पहिलो खेल खेल्न लागेको हो ।
कोस्टारिकाको विश्वको इतिहास खराब छ । पछिल्लो ६ विश्वकप खेल्दा कोस्टारिकाले जित निकाल्न सकेको छैन ।
तर, यस पटक कोस्टारिका इतिहास बनाउने योजनामा हुनेछ । इतिहास कोर्न कोस्टारिका पहिलो खेलमै स्पेनलाई स्तब्ध बनाउन चाहन्छ ।
हेड टु हेड -
स्पेन र कोस्टारिकाबीच विश्वकपमा पहिलो प्रतिस्पर्धा हो । तर, दुई टोलीबीच तीन मैत्रीपूर्ण खेल भएको छ ।
कोस्टारिकाविरुद्ध स्पेनले दुई खेलमा जित निकालेको छ । एक खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
स्पेन - उनाइ सिमोन, डानी कार्भाजल, एरिक गार्सिया, एम्रिक लापोर्टे, जोर्डी अल्बा, सर्जियो बुस्केट्स, गाभी, पेड्री, मार्कोस एसेन्सियो, अल्भारो मोराटा, डानी ओल्मो
कोस्टारिका - केलियर नाभास, कार्लोस मार्टिनेज, ओस्कार डुअर्टे, फ्रान्सिस्को काल्भो, ब्रायन ओभिडो, गेर्सन टोरेस, सेल्सो बोर्गेस, एलट्सिन तेजडा, जेविसन बेनेट्टी, एन्थोनी कोन्ट्रेरस, जोएल क्याम्पबेल
प्लेयर्स टु वाच -
यस खेलमा स्पेनका अल्भारो मोराटा र कोस्टारिकाका केलियर नाभास प्लेयर्स टु वाचमा रहने छन् ।