काठमाडौं । फिफा विश्वकप फुटबलमा जर्मनीको छुट्टै बिरासत छ । विश्वकपमा सफल राष्ट्र मध्ये एक हो जर्मनी ।
कतार विश्वकपमा आज बुधबार एसियाली पावर हाउस जापानविरुद्ध खेल्दै जर्मनीले विश्वकपको सुरुआत गर्दैछ । समूह 'ई' मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानविरुद्ध मैदान उत्रदा जर्मनीलाई अघिल्लो संस्करणको खराब प्रदर्शनलाई बिर्साउने प्रदर्शनको चुनौती हुनेछ । त्यसैले पहिलो खेलमै जर्मनी ३ अंक जोड्न चाहन्छ ।
२०१८ को रुस विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको छ ।
जापानले १९९८ बाट विश्वकपमा डेब्यु गरेको थियो । त्यसयता जापान हरेक संस्करणको विश्वकप खेल्दै आईरहेको छ ।
रुस विश्वकपमा समेत जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो । जापानले समूह चरण पार गरेको थियो ।
यस पटक पनि जापान पुरानो बिरासतलाई जोगाउने योजनामा रहेको छ । जर्मनीविरुद्ध मैदान उत्रदा जापान ३ अंककै लागि खेल्ने छ ।
हेड टु हेड -
जर्मनी र जापानबीच यस अघि दुई पटक प्रतिस्पर्धा भएको छ । सन् २००४ मा जर्मनीले जापानलाई ३-० ले हराएको थियो ।
सन् २००६ मा भने जर्मनी र जापानबीच २-२ गोलको बराबरी भएको थियो । जर्मनी र जापानले मुख्य प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।
सम्भावित सुरुआती-११
जर्मनी - म्यानुएल नुएर,क्रिष्टियन गुन्टर, एन्टोनियो रुडिगर,निकलस सुले, थिलो केहर, जोसुवा किमिच, लियोन गोर्टेज्का, लोरी साने, जमल मुसियाला, सेर्जी जिनाब्री
जापान - शुइची गोन्डा, युटु नागातोमा, माया योशिदा, को इटाकुरा,ताकिहिरो तोमियासु, वातारु इन्डो, हिदेमासा मोरिता, रित्सु डोन, दाइची कामदा,ताकुमी मिनामिनो, तकुमा असानो
प्लेयर्स टु वाच -
यस खेलमा जर्मनीका जमल मुसियाला र जापानका ताकुमी मिनामिनो प्लेयर्स टु वाचमा रहने छन् ।