काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोले आज बुधबार साविक उपविजेता क्रोएसियासँग खेल्दै विश्वकपको सुरुआत गर्दैछ।
मोरक्कोले अल बायत स्टेडियममा युरोपियन राष्ट्र क्रोएसियाको सामना गर्नेछ । मोरक्को र क्रोएसियाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
मोरक्को छैटौं पटक विश्वकप खेल्न लागेको हो । लगातार दोस्रो संस्करण पनि । तर, अघिल्लो रुस विश्वकपमा मोरक्कोले समूह चरण पार गर्न सकेको थिएन ।
यस पटक मोरक्को कठिन समूहमा छ । र, उसले क्रोएसियासँगै बेल्जियम र क्यानडाको सामना गर्नुपर्नेछ ।
पहिलो खेलमा मोरक्को क्रोएसियालाई स्तब्ध बनाउने योजनामा हुनेछ ।
यता, क्रोएसिया छैटौं पटक विश्वकप खेलिरहेको छ । क्रोएसिया अघिल्लो संस्करणको बिरासतलाई जोगाउने लक्ष्यमा रहेको छ । त्यसैले क्रोएसिया पहिलो खेलमा ३ अंककै लागि खेल्नेछ ।
हेड टु हेड -
मोरक्को र क्रोएसियाबीच दोस्रो पटक खेल्न लागेका हुन् । यस अघिको एक भेटमा क्रोएसियाले जितेको थियो ।
सन् १९९६ मा किङ हसन अन्तराष्ट्रिय कपको सेमिफाइनलमा दुबै टोली भिडेका थिए । खेल २-२ को बराबरी भएपछि पेनाल्टीमा क्रोएसियाले ७-६ ले जितेको थियो ।
सम्भावित सुरुआती-११
मोरक्को : यासिन बौनोउ, अच्राफ हाकिमी, अच्राफ दारी, रोमेन साइस, नौसैर माजरौई, एजेदिन ओनाही, सोफयान अम्राबात, सेलिम अमल्लाह, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल
क्रोएसिया: डोमिनिक लिभाकोभिच, सिमे भर्साल्को, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना बारिसिच, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटियो कोभासिच, निकोला भ्लासिक, ब्रुनो पेटकोभिच, इभान पेरिसिच
प्लेयर्स टु वाच -
यस खेलमा मोरक्कोका हाकिम जिएच र क्रोएसियाका लुका मोड्रिच प्लेयर्स टु वाचमा रहने छन् ।