काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।
मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो ।
लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो ।
साउदीले अर्जेन्टिनाविरुद्ध निकालेको यो पहिलो जित हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।
कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएको हो । जसमा मेस्सीले सहजै गोल गरे ।
पेनाल्टी गोलसँगै मेस्सी चार फरक संस्करणको विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टिनी खेलाडी बने ।
खेलको २८ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गरेपनि मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए।
तर, दोस्रो हाफमा साउदीले उत्कृष्ट पुनरागमन गर्यो ।
खेलको ४९ औं मिनेटमा सलेह अल शेहरीले गोल गर्दै साउदीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा सलिम अल्दावसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ को जित दिलाए ।
यस जितसँगै समूह 'सी' को साउदीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
साउदी समूहको शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना पुछारमा रहेको छ ।
यस हारसँगै अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।
यस्तै अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो । सन् १९९० मा इटालीमा भएको विश्वकपमा अर्जेन्टिना क्यामरुनसँग पहिलो खेलमा पराजित भएको थियो ।