काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज मंगलबार हुने चौंथो खेलमा फ्रान्स र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेता फ्रान्सले दोहास्थी अल जानुब स्टेडियममा अष्ट्रेलियाको सामना गर्नेछ । समूह 'डी' मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
विश्व विजेता फ्रान्स एसियाली राष्ट्रविरुद्ध मैदान उत्रदा सहज जितको योजनामा हुनेछ । पहिलो खेलमै ३ अंक जोडेर फ्रान्स उपाधि रक्षाको यात्रामा अघि बढ्न चाहन्छ ।
तर, चोटग्रस्त खेलाडीको लामो सूचीका कारण फ्रान्सलाई केहि समस्या थपिएको छ । चोटका कारण टिममा रहेका फरवार्ड करिम बेन्जिमा,क्रिस्टोफर एनकुकु र प्रेसनल किम्बेम्पेले विश्वकप गुमाउने छन् । त्यसअघि नै पाउल पोग्बा, एनगालो कान्टे विश्वकप टिम बाहिर थिए ।
यद्दपी, फ्रान्सको टोली पेपरमा अष्ट्रेलिया भन्दा बलियो रहेको छ । फ्रान्सले मुख्य खेलाडीको रुपमा केलियन एमबाप्पेलाई अघि सार्नेछ ।
यता, अष्ट्रेलिया फ्रान्सविरुद्ध अप्रत्यासित जितको योजनामा रहेको छ । अष्ट्रेलिया रुस विश्वकपको खराब प्रदर्शनलाई यस पटक सुधार गर्न चाहन्छ । रुस विश्वकपमा अष्ट्रेलिया जितविहीन घर फर्किएको थियो ।
हेड टु हेड -
फ्रान्सले अष्ट्रेलियाविरुद्ध हालसम्म ५ पटक प्रतिस्पर्धा भएको छ । जसमा तीन खेलमा फ्रान्सले जित निकालेको छ । अष्ट्रेलियाले एक खेलमा जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ ।
सम्भावित सुरुआती-११
फ्रान्स - हुगो लोरिस, पाभार्ड, सालिबा, कोनाटे, लुकास हर्नान्डेज,चुवामेनी, कामाभिन्गा, राबीओट, ग्रीजम्यान, जिरुड, एमबाप्पे
अष्ट्रेलिया - रायन, बेहिच,रोवलेस, राइट, एट्कीनसन, मोय, इर्भिन, ह्रुस्टिक, लेकी, बोयले, जेमी म्याक्लरेन
प्लेयर्स टु वाच -
यस खेलमा प्लेयर्स टु वाचमा केलियन एमबाप्पे र जेमी म्याकलरेन रहने छन् ।
एमबाप्पेले फ्रान्सको अग्रपंक्ति सम्हाल्ने छन् । म्याक्लरेनले पनि अष्ट्रेलियाको अग्रपंक्तिको नेतृत्व गर्ने छन् ।