काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार उपाधि दाबेदार अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।
अर्जेन्टिनाले लुसाइल स्टेडियममा साउदीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । समूह 'सी' मा रहेको अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
दुबै टोली पहिलो खेलमा जित निकाल्न चाहन्छ । जसको लागि दुबै टोलीले बलियो सुरुआती-११ मैदान उतार्ने छन् ।
यस खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र साउदीका सलेह अल शेहरी प्लेयर्स टु वाचका रुपमा रहेका छन् ।
लियोनल मेस्सी -
फरवार्ड मेस्सी अर्जेन्टिनाका कप्तान हुन् । गत वर्ष कोपा अमेरिकाको उपाधि दिलाएका मेस्सी यस पटक अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन चाहन्छन् ।
पछिल्लो पटक अर्जेन्टिनाले १९८६ मा विश्वकपको उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिनाले विश्वकप जित्न सकेको छैन । तर, मेस्सीलाई यो पटक अवसर छ ।
साउदीविरुद्ध अर्जेन्टिनाका मुख्य खेलाडी मेस्सी नै हुनेछन् । गोल गर्न र पास उपलब्ध गराउन माहिर मेस्सी अर्जेन्टिनाका सफल खेलाडी मध्ये एक हुन् । उनी जतिबेला पनि विपक्षी डिफेन्डरका लागि टाउको दुखाई बन्ने गर्छन । मेस्सीको यो अन्तिम विश्वकप समेत हो ।
फ्रेन्च क्लब पीएसजीका फरवार्ड मेस्सीले अर्जेन्टिनाका लागि १ सय ६५ खेलमा ९१ गोल गरिसकेका छन् ।
सलेह अल शेहरी -
अर्जेन्टिनाविरुद्ध मैदान उत्रदा साउदीका लागि मुख्य हतियार सलेह हुनेछन् । स्ट्राइकर सलेहको प्रदर्शनमा साउदीको टिम भर पर्नेछ ।
२९ वर्षीय स्ट्राइकरबाट साउदीले क्लिनिकल फिनिसिङको आशा राखेको छ । विशेष गरि काउन्टरमा उनी सफल हुँदै आएका छन् । त्यसैले उनी अर्जेन्टिनाका बलियो डिफेन्स लाइनलाई चिर्न कोशिश गर्ने छन् ।
अल हिलालबाट खेल्दै आएका उनले साउदीका लागि २० खेलमा १० गोल गरिसकेका छन् ।