काठमाडौं । नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुबै गोल गरेको थियो ।
खेलको ८४ औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
गाक्पोले विश्वकपको डेब्यु खेलमा गोल गरेका हुन् ।

त्यसपछि खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को जित दिलाए ।
यस जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।
समूह 'ए' मा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।
सेनेगलले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।
सेनेगल तेस्रो स्थानमा रहेको छ ।
