काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार वेल्सले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
वेल्सले अमेरिकासँग अहमद बिन अलि स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह 'बी' मा रहेको वेल्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
६४ वर्षपछि विश्वकप खेल्न लागेको वेल्स सुखद सुरुआतको योजनामा हुनेछ । सन् १९५८ पछि पहिलो पटक वेल्स विश्वकपमा छनोट भएको हो ।
त्यसैले लामो समयपछिको विश्वकपलाई वेल्स यादगार बनाउने योजनामा रहेको छ ।
'यो सबैको सपना हो र यो एउटा विशेष अवसर हुनेछ । जुन कुरामा सम्पूर्ण राष्ट्रले गर्व गरेको छ,' वेल्सका कप्तान तथा फरवार्ड ग्यारेथ बेल भन्छन्, 'हामी समूह चरण भन्दा माथि जान सक्दो प्रयास गर्नेछौं । आवश्यक छ । हामी राम्रो गर्छौं र हृदयबाट दिन्छौं।'

अमेरिका २०१४ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो । वेल्सलाई हराउँदै अमेरिका पनि विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ ।
विश्वकपमा अमेरिकाले नकआउट चरणसम्म यात्रा तय गरेको छ । विश्वकपको १० खेलमा अमेरिकाले एक खेलमा मात्र गोल गर्न सकेको थिएन ।
यस पटक पनि अमेरिका विश्वकपमा आफुलाई प्रमाणित गर्न चाहन्छ ।
'मलाई लाग्छ हामीले आफूलाई प्रमाणित गर्नुपर्छ। हालका दशकहरूमा हामी विश्वका केही पावरहाउसहरूको स्तरमा हुन सकेका छैनौं । हामीसँग धेरै हृदय र दिमाग भएका राम्रा टोलीहरू छन् । तर मलाई लाग्छ कि हामी यसलाई अर्को चरणमा लैजान सक्छौं। एक सफल विश्वकपले धेरै चीजहरू परिवर्तन गर्न सक्छ,' वेल्ससँगको खेलअघि अमेरिकी फरवार्ड क्रिस्टियन पुलिसिचले भनेका छन् ।
हेड टु हेड -
वेल्स र अमेरिकाबीच हालसम्म दुई पटक प्रतिस्पर्धा भएको छ । तर, विश्वकपमा दुई टोलीबीच पहिलो पटक भिडन्त हुन लागेको हो ।
यस अघिको दुई भेटमा अमेरिकाले एक खेल जितेको छ भने एक खेल बराबरी भएको छ ।
सन् २००३ मा अमेरिकाले वेल्सलाई २-० ले हराएको थियो । २०२० मा भएको खेलमा वेल्स र अमेरिकाबीच गोलरहित बराबरी भएको थियो ।
सम्भावित सुरुवाती-११
अमेरिका - म्याट टर्नर, सर्जिनो डेस्ट, वाकर जिम्मरम्यान, आरोन लङ, एन्टोनी रोबिन्सन, युनुस मुसाह, टायलर एडम्स, वेस्टन म्याकेनी, क्रिस्टियन पुलिसिच, जोस सर्जेन्ट, ब्रेन्डन आरोनसन
वेल्स - वायन हेनेसी, ईथान एम्पाडु, जोए रोडन, बेन डेभिस, कोनर रोबर्ट्स, जोए एलेन, आरोन राम्से, नेको विलियम्स, ग्यारेथ बेल, किफर मोरे, डेनियल जेम्स