काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणका खेल आजबाट सुरु हुँदैछ । पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा थ्री स्टार र एपीएफले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
पहिलो खेलमा बिहान ११ बजे पुलिस र एनआरटी भिड्नेछन् । मैदान उत्रदै गर्दा एनआरटी पहिलो जितको खोजीमा हुनेछ । पुलिस तेस्रो जित निकाल्न चाहन्छ ।
दुई जित, एक हार र एक बराबरी पुलिसको नतिजा हो ।
चौथो चरणमा च्यासल युथ क्लबको चुनौती सहजै पार गरेको पुलिस एनआरटीलाई समेत पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ ।
यसअघि, पुलिस, जाउलाखेललाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा मछिन्द्रसँग गोल रहित बराबरीमा रोकिएको थियो । विभागीय डर्बीमा आर्मीसँग १–० ले पराजित पुलिसले चौथो चरणमा बलियो टोली च्यासलविरुद्व सहज जित निकालेको थियो ।
यता, एनआरटीले पहिलो खेलमै सनसनीपुर्ण प्रर्दशन गर्दै आर्मीसँग २–२ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा सिग्नेचर मनाङसँग २–० ले पराजित उसले च्यासलसँग ५–१ को फराकिलो हार ब्यहोरेको थियो । लिग चरणको अन्तिम खेलमा एनआरटी, रुस्लान थ्री स्टारसँग २–० ले पराजित भएको थियो ।
पुलिस ७ अंक सहित तालिकाको छैटौ स्थानमा छ । एनआरटी १ अंक सहित तालिकाको पुछारमा छ ।
आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे थ्री स्टार र एपीएफले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टिमविरुद्व मैदान उत्रदै गर्दा थ्री स्टारलाई कम्तिमा एक दिन भएपनि लिगको शीर्ष स्थानमा उक्लिने मौका छ ।
चौथो चरणको खेलमा एपीएफ क्लबले मनाङसंग २–१ को हार ब्यहोरेको थियो । थ्री स्टारले फ्रेन्ड्स क्लबसंग २–१ को जित निकालेको थियो ।
थ्री स्टार ३ जित, १ बराबरी सहित ९ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । एपीएफ एक जित, दुई हार र एक बराबरी सहित ४ अंक जोडेर तालिकाको नवौ स्थानमा छ ।