काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्रदान गर्ने 'एनएनआईपीए बर्ष उत्कृष्ट खेलाडी' अवार्ड आगामी पुस दोस्रो साता आयोजना हुने भएको छ ।
एनएनआईपीएले बिहिबार पत्रकार सम्मेलन गर्दै यस बर्षको अवार्ड पुसको १३ गते प्रदान गरिने जानकारी गराएको छ । ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आयोजना हुने अवार्ड कार्यक्रममा २९ खेलका उत्कृष्ट खेलाडी 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी' बाट सम्मानित हुनेछन् ।
गत बर्ष ३५ खेलका खेलाडी सम्मानित भएपनि यस पटक २९ खेलका खेलाडीलाई सम्मानित गरिने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए । एनएनआईपीएले राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा सहभागी खेललाई समावेश गरेको जनाएको छ ।
यस पटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस,सुटिङ, बक्सिङ, भारोत्तोलन, लन टेनिस,सफ्ट टेनिस,कबड्डी, फेन्सिङ, हक्की,स्क्वास,सेपाताक्रो,साइक्लिङ र खोखो रहेका छन् । यस्तै बास्केटबल,तेक्वान्दो, आइटीएफ तेक्वान्दो,ब्याडमिन्टन, ट्रायथलन,ह्याण्डबल,कराते,जुडो,उसु,आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती समावेश छन् ।
यस पटक क्रिकेट खेल समावेश गरिएको छैन । गत बर्ष क्रिकेट खेल समावेश गरिएको थियो ।
सम्मानित हुने २९ खेलका प्रत्येक खेलाडीले १० हजार नगद पाउने छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुने छ ।
यस बर्षबाट दुई खेलाडीलाई सर्वोकृष्ट बर्ष खेलाडीले सम्मान गरिने आयोजकले जनाएको छ । संघले २९ खेलका उत्कृष्ट खेलाडीमध्ये एक महिला र एक पुरुषलाई सम्मान गर्ने जनाएको हो ।
त्यस्तै, अवार्ड कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।
यस बर्षपनि एक जना खेल पत्रकारलाई एनएनआईपिए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने जनाएको छ । जसको पुरस्कार राशी नगद १५ हजार रहेको छ ।