काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा विभागीय टिम एपीएफलाई २ - १ गोल अन्तरले पराजित गर्दै मनाङ शतप्रतिशत जितसहित लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मनाङलाई जित दिलाउन आडेलाजा सोमिडेले र अन्जन बिष्टले एक एक गोल गरे । एपीएफका नबिन लामाले एक गोल गरे ।
खेलको १९ औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा एपीएफले पेनाल्टी पायो । मनाङका मोहमद आसिफले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा नबिनले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
तर, खेलको ४५ औं मिनेटमा मनाङले पेनाल्टी प्राप्त गर्यो । एपीएफका सन्तोस कुमार कटवालले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा अन्जनले गोल गर्दै मनाङलाई पहिलो हाफमा २ - १ को अग्रता दिलाए ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल मनाङले २ - १ ले आफ्नो बनायो ।
खेलमा मनाङका आडिलेजे सोमिडे म्यान अफ दि म्याच चुनिए ।
एपीएफविरुद्धको जितसंगै मनाङले आफ्नो अपराजित यात्रा कायम राखेको छ । यसअघि मनाङले उपाधि दाबेदार थ्री स्टार, एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो ।
मनाङले ४ खेलमा ४ जित निकाल्दै १२ अंक जोडेको छ । मनाङले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो । आर्मीको १० अंक छ ।
४ खेलबाट ४ अंक जोडेको एपीएफ नवौं स्थानमा छ ।