काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम एपीएफ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङले एपीएफविरुद्ध सुरुवाती अग्रता बनाएको छ । पहिलो हाफ सकिदा एपीएफविरुद्ध मनाङ २ - १ ले अघि रहेको छ ।
मनाङका लागि आडेलाजा सोमिडे र अन्जन बिष्टले एक एक गोल गरे । एपीएफका नबिन लामाले एक गोल गरे ।
खेलको १९ औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २८ औं मिनेटमा एपीएफले पेनाल्टी पायो । मनाङका मोहमद आसिफले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा नबिनले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
तर, खेलको ४५ औं मिनेटमा मनाङले पेनाल्टी प्राप्त गर्यो । एपीएफका सन्तोस कुमार कटवालले ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा अन्जनले गोल गर्दै मनाङलाई पहिलो हाफमा २ - १ को अग्रता दिलाए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । मनाङ जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ । लिगमा सतप्रतिशत जित निकाल्ने मनाङ एक्लो टोली हो । एपीएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो ।
एपीएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको उसले तेस्रो खेलमा ब्रिगेड ब्वाईजसंग पराजित हुन पुगेको थियो ।
मनाङ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एपीएफ ४ अंक सहित आठौ स्थानमा छ ।