पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसको एकलतर्फ नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले स्वर्ण जितेका छन् ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा बुधबार पुरुष एकलतर्फ स्यान्टु र महिलामा नविताले स्वर्ण जितेका हुन् ।
पुरुषको फाइनलमा स्यान्टुले एपीएफका रुविन महर्जनलाई ४-१ को सेटमा पराजित गरे । उनले महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ ले हराए ।
पुरुषमा पुलिसका प्रदीप रोका र एपीएफका संयोग कपालीले कास्य पदक हात पारे ।
महिला एकलमा नविताले पुलिसकै एलिना महर्जनलाई ४-३ को सेटमा हराएर स्वर्ण जितिन् ।
नविताले एलिनालाई ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ ले पराजित गरिन् ।
महिला एकलमा एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले कास्य पदक हात पारिन् ।
टेबल टेनिसमा ६ स्वर्णसहित पुलिस टिम च्याम्पियन बनेको छ ।
प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ काँस्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो ।
त्यस्तै बागमती प्रदेशले १ रजत र २ कास्य सहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ कास्य, एनआरएनएले २ कास्य, प्रदेश १ ले २ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक हात पारेका छन् ।
प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् । समापन कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल ओलम्पकि कमिटिका उपाध्यक्ष चतुरानन्दराज वैद्य, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले पदक तथा पुरस्कार वितरण गरेका थिए ।