काठमाडौं । पाँचौं संस्करणको राष्ट्रिय इक्वेस्ट्रियन (घोडचढी) प्रतियोगिता आगामी शनिबार आयोजना हुने भएको छ ।
नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार (मंसिर १५ गते ) हुने जनाएको हो ।
टुडिखेलमा आयोजना हुने एकदिने प्रतियोगितामा हर्स शो जम्प, हर्स हाई जम्प, ६ क्रस बार एण्ड शो जम्प र टेन्ट पेगीङमा प्रतिस्पर्धा हुनेछ । हर्स शो जम्प र हर्स हाई जम्पमा पुरुषले मात्र प्रतिस्पर्धा गर्दा ६ क्रस बार एण्ड शो जम्पमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेछन् । टेन्ट पेगीङमा दुवै महिला र पुरुषको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विभागीय टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब १२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सबै घोडाहरु आर्मीका हुनेछन् ।
हर्स शो जम्प, हर्स हाई जम्प र टेन्ट पेगीङको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार पाउनेछन् । ६ क्रस बार जम्पका विजेताले विजेता, उपविजेता र तेस्रोले समान १०-१० हजार पाउनेछन् । हर्स शो जम्प महिलाका विजेताले १५ हजार तथा उपविजेता र तेस्रोले १०-१० हजार पाउनेछन् ।
प्रतियोगितालाई वार्सटाइनर प्रिमियम बियरले मुख्य प्रायोजन गर्नेछ । संघले आइतबार नै जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजसंग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । जावलाखेलका प्रतिनिधि रबि ब्यन्जनकार र संघका उपाध्यक्ष भिक्टोर रानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतासंगै प्रतियोगिताका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले संघलाई १२ लाख उपलब्ध गराउनेछ ।