काठमाडौं । नेपालका उमेश राईले शनिबार प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् ।
दक्षिण एसियाका आठ वटै राष्ट्रका खेलाडीलाई पछि पार्दै उमेश च्याम्पियन बनेका हुन् । उनले ७५ केजी तौल समूहमा पहिलो स्थान हात पार्दै अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
एसियाली शारीरिक सुगठन फेडरेसनको आयोजनामा भएको च्याम्पियनसिपको ६० केजी तौल समूहमा श्रीलंकाका राजाकुमारन पहिलो भए । यसैगरी श्रीलंकाकै कोलिन उदयकुमारन दोस्रो र नेपालका सुपेन्द्र डंगोल तेस्रो भए । ६५ केजीमा भारतका एसके आरिफ पहिलो, नेपालका रोजेन वज्राचार्य दोस्रो र श्रीलंकाका जीजीएन विक्रमले तेस्रो स्थान हात पारे ।
राष्ट्रिय सभागृहमा भएको च्याम्पियनसिपको ७० केजी तौल समूहमा नेपालका रामबहादुर दाहाल पहिलो भए । बंगलादेशका एमडी अलअमिन र मिठ्ठु चोकदरले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । ७५ केजीमा बंगलादेशका एमडी उदिन र अव्वु सैयदमौल्ला दोस्रो र तेस्रो भए । ८० केजीमा बंगलादेशका सुमनचन्द्र दासले पहिलो स्थान हात पारे । यो स्पर्धामा नेपालका अनुज मास्के र ललित धिमालले दोस्रो र तेस्रो स्थान हासिल गरे ।
यसैगरी पुरुष एक सय ७१ सेन्टिमिटर मुनिको उचाइ समूहको फिजिक्समा बंगलादेशका एमडी इमरानुल र आरिफ चौधरीले पहिलो र दोस्रो हुँदा नेपालका पारस ताम्राकारले तेस्रो स्थान हासिल गरे । पुरष एक सय ७१ सेन्टिमिटर भन्दामाथि समूहमा नेपालका रमेश श्रेष्ठ पहिलो भए । नेपालकै सम्यक उदास र विनोद परियार दोस्रो र तेस्रो भए ।
यसैगरी महिला फिटनेसमा नेपालकी शोभा मानन्धरले पहिलो स्थान हात पारिन् । यही स्पर्धामा नेपालकै पूजा गुरुङ दोस्रो, पम्फा राई तेस्रो र पूजा श्रेष्ठ चौथो स्थानमा रहे । प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए ।