काठमाडौं । दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप भोलि (शनिबार) हुँदैछ । च्याम्पियनसिप एसियन बडिबिल्डिङ एन्ड फिटनेस संघको आयोजनामा नेपालले गर्न लागेको हो ।
च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको नेप्लिज फेडरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस एवं आयोजक कमिटीका उपाध्यक्ष तथा कोषाध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए ।
च्याम्पियनसिपमा दक्षिण एसियाका आयोजक नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र भुटानको सहभागिता रहने छ । आयोजक कमिटीका कोषाध्यक्षका अनुसार च्याम्पियनसिपमा सहभागी हुन सात वटै राष्ट्रका खेलाडी नेपाल आइसकेका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुने च्याम्पियनसिपमा पुरुष बडीबिल्डिङतर्फ ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी र ८५ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुँदैछ । यसैगरी पुरुष फिजिक स्पर्धामा एक सय ६८ सेमी माथि र एक सय ७१ सेमीमाथि प्रतिस्पर्धा हुनेछ ।
यसैगरी महिला फिजिकमा एक सय ६२ सेमी तथा त्योभन्दा माथिको सेमीमा प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपका हरेक तौल समूहका विजेताले आकर्षक पुरस्कार पाउने छन् ।