काठमाडौं । एभीएमका एलेन महर्जनले एभरेस्टका आर्यन शाहीलाई कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै शनिबार कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल (यू–१५) उपाधि जितेका छन् ।
लैनचोरको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलेन १०–१२, १२–१०, ११–८, ८–११ र ११–३ ले विजयी रहे ।
त्यसै स्पर्धामा काठमाडौंका शंकर पहारी र बुटवल टेबलटेनिस एकेडेमीका विसु सुनार तेस्रो भए । आइतबार अन्तिम दिन तीन स्पर्धाको फाइनल हुनेछ ।
त्यसमध्ये जुनियर ब्वाइज (यू–१९) को फाइनल एभीएमका रुबिन महर्जन र मोरङका बोधित डीसीबीच हुनेछ । पहिलो सेमिफाइनलमा रुबिनले नुवाकोटका ज्ञनन्जय दाहाललाई ९–११, ११–६, ११–७ र ११–९ ले पराजित गरे ।
बोधितले भने काठमाडौंका हिमाल विष्टलाई १२–१०, ९–११, ११–९ र ११–९ ले पराजित गरे । क्याडेट गर्ल्स (यू–१५) को फाइनलमा एभीएमकी बियन्का राई र आर्मीकी सुस्मिता खड्काबीच हुनेछ ।
यस्तै जुनियर्स गर्ल्स (यू–१९) को उपाधि भिडन्तमा एभीएमकी इभान थापा मगर र भुक्तपुरकी दिया देउला उत्रने छन् ।