काठमाडौं । केकेएम-एनआरटी खुल्ला टेबल टेनिस प्रतियोगिता आगामी असोजमा आयोजना हुने भएको छ ।
आयोजक काठमाडौं खेल मण्डल (केकेएम) न्यरोड टिम (एनआरटी) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने जनाएको छ ।
अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल भेट्रान्स टेबल टेनिस संघको तत्वावधानमा संचालन हुने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगितामा नेपालका राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी तथा विदेशबाट समेत खेलाडी आउने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत एकल खेलहरु लिगकम नकआउटका आधारमा हुनेछ भने टिम इभेन्ट्स नकआउटका आधारमा हुनेछ ।
क्वाटरफाइनलसम्मका खेलहरु बेस्ट अफ ५ र फाईनल बेस्ट अफ ७ को आधारमा खेलाईनेछ ।
प्रतियोगितामा ११ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष एकल, महिला एकल, जुनियर ब्वाइज यू-१९, जुनियर गर्ल्स यू-१९, क्याडेट ब्वाइज एकल यू-१५, क्याडेट गर्ल्स यू-१५, पुरुष भेट्रान्स एकल ६० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्षमाथि, पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, महिला भेट्रान्स एकल ४० वर्षमाथि र पुरुष भेट्रान्स टिम ४० वर्षमाथिमा प्रतिस्पर्धा हुनेछ ।
पुरुष एकलतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १०/१० हजार पाउने छन् ।
महिला एकलतर्फ विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १०/१० हजार पाउने छन् ।
जुनियर ब्वाइज यू-१९, जुनियर गर्ल्स यू-१९, क्याडेट ब्वाइज एकल यू-१५ र क्याडेट गर्ल्स यू-१५ तर्फको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले २५ सय पाउने छन् ।