काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघले मंगलबार टेबल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई उज्वल भविष्यको शुभकामना सहित बिदाइ गरेको छ ।
संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ गरे । यस्तै श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीहरु लगायतले खादा, अविर सहित उज्वल भविष्यको लागि शुभकामना सहित बिदाइ गरे ।
राष्ट्रिय च्याम्पियन स्यान्टु उच्च शिक्षा अध्ययन गर्नका लागि अष्ट्रेलिया जान लागेका हुन् । ३ पटकको च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुदमा १ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएको संघका बरिष्ठ उपाध्यक्ष एव काठमाडौं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराए ।