काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । र, नेपाललाई फिल्डिङमा पठाएको छ ।
नामिबियाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । करण केसी टिम बाहिर रहदा पवन सर्राफ सुरुआती-११ मा अटाएका छन् ।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।
सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।
नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ ।
नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।