काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले पाँच मागसहित अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
खेलाडी संघले बिहीबार एन्फा कम्प्लेक्समा ध्यानाकर्षण पत्र बुझाएको हो । संघका अध्यक्ष बिक्रम लामाले एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संघले खेलाडी प्रशिक्षक विवादमा छानविन समितिले दिएको सुझावका आधारमा प्रशिक्षकको विषयमा काम अघि बढाउन माग गरेको छ ।
खेलाडीलाई वर्षभरी व्यस्त राख्नेगरी एन्फाको प्रतियोगिता क्यालेन्डर सार्वजनिक गर्न माग गरिएको छ ।
त्यस्तै फुटबलको वर्तमान संरचनाले खेलाडी र खेलको विकास सम्भव नभएकाले घरेलु फुटबलको संरचनालाई पुर्नसंरचना गर्दै नयाँ खाका तयार गरेर कार्यान्वयन गर्न, खेलाडीको स्वास्थ्य बिमा र स्वास्थ्य उपचारका लागि उचित प्रबन्ध गर्न र घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरु विदेश जाने क्रम बढेका कारण यथासिघ्र क्लब फुटबलका कार्यक्रमलाई सावर्जनिक गर्न एन्फासँग माग गरिएको छ ।
खेलाडी संघले एन्फाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको छ।
संघले नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाको नयाँ नेतृत्व र कार्यसमितिसँग खेलाडी संघ हातेमालो गर्दै सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
नेपाली फुटबलको विकास, विस्तार र प्रबर्द्धनमा सहयोगी भुमिका निर्वाह गर्न संघ सधै तत्पर र इच्छुक रहेको तथा देशको झण्डा अन्तराष्ट्रिय एरिनामा फर्फराउन खेलाडी संघ एन्फासँग मिलेर हरेक फुटबल गतिविधिमा सहकार्य गर्न तयार रहेको संघले जनाएको छ ।
तर, पछिल्लो समय खेलाडीको राष्ट्रिय योगदानको अवमुल्यन गर्दै भैरहेका गतिविधि र कार्य सन्तोषजनक नरहेको संघले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
खेलाडीलाई सम्मानपूर्वक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको पछिल्लो निर्णयको खेलाडी संघले धन्यवाद दिएको छ ।
खेलाडी संघले बुझाएको ध्यानाकर्षण पत्र -