काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको पहिलो बैठक शुक्रबार राजधानीमा बसेको छ ।
जमलस्थित एल्लो प्यागोडामा होटलमा नवौं राष्ट्रिय खेलकुदको मुल आयोजक कमिटीको बैठक बसेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक आह्वान गरेका थिए ।
बैठकमा मन्त्री गहतराज, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, सातै प्रदेशका खेलकुद सदस्य सचिव, विभागीय टोली, खेल संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुँदैछ ।
मुल आयोजक कमिटिको बैठकले मुख्य ७ निर्णय गरेको छ ।
मुख्य निर्णयहरु :
१) प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने ।
२) प्रतियोगिताका लागि १४ वटा उपसमिती गठन गर्ने ।
३) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
४) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्पर्धा गराउने ।
५) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी मुख्य ट्रफी बनाउने र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।
६) लगातार तीन वटा प्रतियोगिता विजेतालाई ट्रफि प्रदान गरीने ।
७) प्रतियोगिताकालागि ६० करोड बजेट स्विकृत ।